काठमाडौं, जेनजी आन्दोलनको म्यान्डेट संस्थागत गर्न भन्दै सरकारसँग वार्ता गर्न गठन गरिएको ११ सदस्यीय टोली भित्रनै विवाद देखिएको छ ।
सरकारसँग सम्झौता गर्नका लागि भन्दै गठन गरिएको वार्ता टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् । वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख थियो तर उनले हस्ताक्षर भने गरेकिछैनन् ।
उनले आफ्नो त्यसमा समर्थन नभएको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्ट पारेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले थाहा नै नदिई ,एकतर्फी ढङ्गले आफ्नो नाम वार्ता टोलीमा राखेको भन्दै असहमति जनाएकी हुन् ।
आन्दोलनको रापतापमा आफ्नो रोटी सेक्न खोज्ने फरक फरक अनुहार र समूहहरू पनि जन्मिइरहेको भन्दै त्यो निकै नै गम्भीर र दुखद कुरा रहेको उनको भनाइ छ ।
यसमा सबै चनाखो र सचेत हुनु जरुरी रहेको उनी बताउँछिन् ।
सामाजिक सञ्जालमा उनले यस्तो लेखेकी छन्
Sep 8-9 को आन्दोलनमा फरक फरक Gen Z समूह थिए भन्ने कुरा सर्वबिदितै छ ।
त्यही आन्दोलनको रापतापमा आफ्नो रोटी सेक्न खोज्ने फरक फरक अनुहार र समूहहरू पनि जन्मिइरहेका छन, जुन निकै नै गम्भीर र दुखद कुरा हो । यसमा सबै परिवर्तन पक्षधरहरु चनाखो र सचेत हुनु पनि जरुरी छ ।
हिजै मात्र केही फरक समूहका Gen Z साथीहरूले राष्ट्रपतिसँग वार्ता गर्ने टोलीको नाम र माईन्युट सार्वजनिक गर्नुभएको रहेछ जसमा मेरो नाम समेत उल्लेख थियो । त्यहाँ मेरो नाम हुनु तर हस्ताक्षर नहुनुले नै पनि सायद धेरै कुरा प्रष्ट पारिसकेको छ । तर यसैसन्दर्भमा मैले थप कुरा केही भन्नैपर्छ जस्तो लागेर तपाईहरूलाई आफ्नो स्पष्ट धारणा राख्न चाहन्छु ।
– सामुहिक माग लिएर सरकारसँग छलफलमा जान जो कोही साथीहरू जान पाउनुहुन्छ/पाउनुपर्छ । आफ्नो मुद्दालाई सरकारसँग लिएर जान
पाउनु नै हाम्रो लोकतान्त्रिक अधिकार हो । म लोकतन्त्रको पक्षमा छु ।
– साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई जसरी एकतर्फी ढंगले राखेर सार्वजनिक गर्नुभएको छ, त्यो नितान्त गलत गर्नुभएको छ । यसैक्रममा त्यहाँ मेरो नाम किन छ भन्ने प्रश्न गर्नको लागि मैले सो समूहका केही साथीहरूसँग हिजो छलफलमा पनि बसे । र स्पष्टसँग ‘तपाईंहरूले गलत गर्नुभयो’ भनेर पनि भने ।
– प्रथमत: त्यहाँ भएका नामहरू सहितको टोली गठनको प्रकृया र उद्देश्यबारे म अनभिज्ञ छु । त्यससँगै सो माईन्युटमा भएका कुनै पनि बुँदा मैले नपढेको जानकारी गराउँछु । त्यसकारण हर-एक बुँदामा पढ्दैनपढी र छलफल नगरी म ऐक्यबद्धता जनाउन नसक्ने कुरामा प्रष्ट छु ।
– प्रष्टैसँग Sep 8-9 को Gen Z आन्दोलनले सरकारलाई म्यान्डेट दिईसकेको छ । त्यो म्यान्डेट बारे हामी सबै जानकार भईसकेकै छौँ । यो संक्रमणकालिन अवस्थामा रहेको सरकार, आन्दोलनको म्यान्डेट अनुसार नै चल्ने कुरामा म आशावादी छु । आन्दोलनको म्यान्डेटभन्दा बाहिर गएको अवस्थामा खबरदारी गर्नका लागी सडक सँधै खुल्ला रहेको भन्ने बिषयमा पनि म स्पष्ट छु ।
– वार्तामा जाने भनिएका साथीहरू यो संवेदनशील परिस्थितिमा सचेत हुनुहुन्छ भन्ने मलाई लाग्छ । साथै यस संक्रमणकाललाई थप अनिश्चयमा धकेल्नतर्फ पक्कै लाग्नुहुन्न भन्ने कुरामा आशावादी छु । तर, यदि यो टोली गलत दिशातर्फ मोडिएको पाईएमा, त्यसलाई गलत भन्न र त्यस टोली बिरूद्ध पनि आवाज उठाउने कुरामा म लगायत साथीहरू प्रतिबद्ध रहेको जानकारी गराउँदछु ।








