काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलाई सहकारी ठगीमा नख्खु जेलमा रहेकोले पार्टीमा सभापति लामिछानले पद छाड्नुपर्ने आवाज उठेको छ ।
आज मंगलबार बसिरहेको केन्द्रीय समिति बैठकमा सहकारी ठगीसम्बन्धी मुद्दाको कानुनी निरूपण नभएसम्मका लागि लामिछानेले सभापति छाड्नुपर्ने प्रस्ताव आएको हो । विभिन्न पाँचवटा जिल्लामा रहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्रै रविले सभापतिका रुपमा काम गर्नु उचित हुने धारणा केन्द्रीय समिति बैठकमा राखिएको हो ।
रविमाथि अहिले पनि सहकारी ठगी र संगठित अपराधसहित विभिन्न मुद्दा चलिरहेको छ । रवि अहिले बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा नख्खु कारागारमा छन् ।
उनी भदौ २४ गते जेनजि आन्दोलनको नाममा नक्कली कागजका आधारमा जेलबाट निस्किएका थिए । तर त्यसबेला आन्दोलित जेन–जीसहितले गैरकानुनी रुपमा जेलबाट निस्किएको भन्दै रविलाई त्यतै फर्किन दबाब दिएपछि अहिले उनी थुनामै छन् ।








