विराटनगर, साना तथा मझौला उद्योग–व्यवसायलाई लगानी र नवप्रवर्तन गर्ने उदेश्यसहित उदय परियोजनाले आज विन मोरङ्ग च्याप्टर विराटनगरसंग अन्तरक्रिया गरेको छ ।
स्विस सरकार विकास सहयोग, नेपाल सरकार अर्थ मन्त्रालय तथा कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा डाई ग्लोबल, यूकेद्वारा उदय परियोजना सञ्चालनमा आएको हो । परियोजना सम्बन्धि कोशी प्रदेशका विभिन्न जिल्लाहरुका उद्योगी–व्यवसायीहरुबीच संस्थागत उदेश्यहरु र परियोजनाबाट व्यवसायीहरुले लिनुपर्ने लाभका बारेमा छलफल र अन्तरक्रिया भइरहेको छ ।
यसै शिलशिलामा विराटनगरमा आज सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा विन मोरङ्ग च्याप्टरमा आवद्ध कोशी प्रदेशका २० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा कर्जा लगानीमा जमानत प्रदान गर्न प्रादेशिक कर्जा सुरक्षण कोष र उदय चुनौति कोषका बारेमा छलफल भएको छ । उक्त छलफलपछि सहभागी महिलाहरु आफ्नो व्यवसाय विस्तार गर्न उदयले सहजीकरण गराउने कुरामा उत्साहित भएका छन् ।

छलफलका क्रममा उदय परियोजनाका जोखिम साझेदारी संयोजक उत्सव घिमिरेले नेपालमा साना तथा मझ्यौला उद्यमी का लागि व्यवसाय विस्तार चुनौतीपूर्ण रहेकोेले उदय परियोजनाले उनीहरुलाई व्यवसाय विकास परामर्श विशेषज्ञहरूसँग जोड्दै कार्यक्षमता सुधार्न सहायता प्रदान गर्ने बताए । साथै आजको महिला उद्यमीहरुसंगको अन्तक्रिया उपलधिमुलक भएको पनि बताए ।

यस्तै छलफलमा साना तथा मझौला उद्यमीहरुलाई पूँजी वृद्धिमा पहुँच बढाउन र बैंकहरुलाई लगानी गर्न कर्जाको आंशिक जमानत सुविधा मार्फत प्रोत्साहन गर्न भूमिका खेल्ने परियोजनाका प्राविधिक सहायक सुविधा संयोजक मोहन गौतमले बताए । उनले परियोजनाबारे विभिन्न संघ संस्थासंग छलफल गर्ने क्रममा आज विन मोरङ्गसंग छलफल भएको बताए ।

यसैगरी साना तथा मझौला उद्यमी कर्जा लगानीमा जमानत प्रदान गर्न आएको उदय परियोजनाबाट महिला उद्यमीहरुले फाइदा लिन सक्नेछन् भन्ने कुरामा अाँफु बिश्वस्त भएको विन मोरङ्ग च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले बताइन् ।

साना तथा मझ्यौला उद्योग ठूलो संभावना बोकेका क्षेत्र भए तापनि झन्झटिलो कर्जा प्रक्रिया, नीतिगत असमानता, बजार पहुँचको अभाव, र प्राविधिक सीपको अभावका कारण बजार विस्तार गर्न असमर्थ रहेका छन् । त्यसैले उदय परियोजनाले यी सारा चुनौतिहरु लाई मध्य नजर गरेर तर्जुमा गरेका संयन्त्रहरु ले कोशी प्रदेशका साना तथा मझ्यौला उद्यमी हरु लाई मात्रै हैन, उनीहरु मार्फत्, सारा प्रदेशकै वृहत्तर आर्थिक उन्नयन गराउने लक्ष्य लिएको छ ।









