काठमाडौं, सुनसरीको धरानमा श्रमदान सम्बन्धी भुक्तानीको विषयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्टीकरण दिएका छन् । यस विषयमा उपमेयर अइन्द्र बिक्रम बेघाले भ्रम फैलाएको भनि सामाजिक सञ्जालमा फेसबुक स्टाटस बाट आरोप लगाएका छन् । श्रमदान गरेर धरानमा विकासका काम अघि बढाइँदा कैफियत नगरिएको दाबी गर्दै आएका साम्पाङले आफ्नो स्टाटसमा पनि सोही कुरा उल्लेख गरेका छन् ।
मेयर र उपमेयरबीच विवाद हुँदा तीन दिनदेखि धरान उपमहानगरपालिका परिसरमै नारावाजी र प्रदर्शन हुँदै आएको छ । हिजो मेयर र उपमेयरबीच उपमहानगर परिसरमै हात हालाहालको अवस्था सिर्जना भएको थियो । तर, सुरक्षाकर्मीले सम्भावित झडप रोकेका थिए ।
श्रमदानका नाममा गरिएको कामको हाजिरी उठाएर रकम मागिएको भन्दै उपमेयर बेघाले भुक्तानीमा रोक लगाएपछि धरानमा विवाद सुरु भएको हो ।
उपमेयर बेघाका अनुसार डोजर र स्काभेटरको चाबी मेयर, उपमेयर र कार्यालयको स्टोरमा एउटा÷एउटा राखिएको छ तर मेयर पक्षबाट जथाभावी प्रयोग भइरहेको देखेर चाबी वितरणमा रोक लगाएको उनको भनाइ छ ।