काठमाडौं, भारतको अहमदाबादमा भएको काहाली लाग्दो एयर इन्डिया बोइङ–७८७ ड्रिमलाइनर दुर्घटनामा २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भयो । जसमध्ये एक यात्रु मात्र बाँच्न सफल भए विष्वास कुमार रमेश । जो भारतीय मूलका ३९ वर्षीय बेलायती नागरिक हुन् ।
प्रहरीका अनुसार उनी विमानको ‘११ए’ सिटमा बसेका थिए । दुर्घटनापछि उनी बाहिर फ्याँकिएका थिए र छेउको एम्बुलेन्ससम्म आफैं हिँडेर पुगेको बताइएको छ । दुर्घटनापछि जहाज दुई टुक्रा भएको र आफू बाहिर फ्याँकिएको रमेशको भनाइ छ । उनी अहिले अस्पतालमा उपचाररत छन् । रमेश २० वर्षदेखि लन्डनमा बसोबास गर्दै आएका हुन् र केही दिनका लागि भारत आएका थिए ।
उनी आफ्ना दाजुसँग फर्किंदै थिए, तर दाजु हालसम्म सम्पर्कमा छैनन् । भारतीय गृहमन्त्री अमित शाहले अस्पतालमा रमेशसँग भेट गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । जहाज उडेपछि तीव्र गतिमा तल झरेको र दुई टुक्रा भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ । यो दुर्घटनाले २४१ जनाको ज्यान लिएको छ । तर विष्वास कुमार रमेशको बचाइको कथा एउटा चमत्कार मात्र होइन, मृत्युको छायाँबाट फर्किएको गहिरो पीडादायी अनुभूति पनि हो ।








