काठमाडौं, नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।
लामो समयको अलमलपछि मुलुकले १८औं गभर्नरका रूपमा पौडेललाई पाएको हो । मंगलबार बिहान बसेको गभर्नर सिफारिस समितिको बैठकले गरेको सिफारिसअनुसार मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले उनलाई केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती देखिएको छ । आज पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् । पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।
राष्ट्र बैंकले कम नियमन गरी सुपरीवेक्षण क्षमता बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले बताए ।








