काठमाडौं, रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे सात किलो सुनसहित एकजनालाई नियन्त्रणमा लिएको रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले बताएका छन् ।
शाहीका अनुसार केरुङ हुँदै नेपाल ल्याउन लागेको स्याउ बोक्ने गाडीमा सुन ल्याइएको हो । बा४ख ६२०१ नम्बरको गाडी चालक रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । सुन धनी को हुन् भन्नेबारेमा भने प्रहरीले अनुसन्धान थालेको छ ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ । विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।








