काठमाडौं, नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बित हुने भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेका कारण उनको सांसद पद निलम्बित हुने भएको हो ।
अख्तियारले तत्कालीन सूचना तथा सञ्चार मन्त्री बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेत र झासहितका १६ व्यक्ति र कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वतः निलम्बन हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन् ।








