जेष्ठ १६,२०८३ / १२ : २४ अपरान्ह / 2026-05-30 12:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      घरबाहिर निस्कन नमिल्ने गरी किन बढ्दैछ काठमाडौंमा वायु प्रदूषण ?

      - १ वर्ष अगाडि
      चैत २१,२०८१

      काठमाडौं, वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्यूआईसम्म पुगेको थियो । 

      प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषण कसरी रोक्ने र असर कम गर्ने भन्ने विषयमा छलफल गरेका थिए ।

       बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ । त्यसकारण प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने वातावरणविद् भूषण तुलाधारले बताएका छन्  । 

      अहिले कतिपय बेलामा वायु प्रदूषणको अवस्था तीन सय एक्युआई कटेको छ । ३०० कट्नेबित्तिकै विपद्को अवस्था घोषणा गर्नुपर्ने मापदण्ड छ । वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू– बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सुझाव दिएका छन्  ।

       विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुलारूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ, डढेलो, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ । विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

        सम्बन्धित समाचारहरु