काठमाडौं,भारतको प्रयागराजमा ४५ दिन चल्ने सबैभन्दा ठूलो मानवसागर उर्लिने धार्मिक भेला महाकुम्भ मेला यसलाई संसारकै सबैभन्दा ठूलो मानव जमघट हुने पर्व मानिन्छ ।
त्यसैले पनि फेब्रुअरी २६ मा समापन हुने उक्त मेलामा झन्डै ४० करोड मानिस सहभागी हुने अपेक्षा गरिएकोमा फेब्रुअरी १० मा आईपुग्दा ४२ करोडभन्दा बढी भक्तहरु सहभागी भईसकेका छन् । हाल प्रयागराजमा जारी महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउने क्रम जारी छ । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।
उत्तर प्रदेश सरकारले महाकुम्भमा आइतबार अर्थात हिजो एकै दिन करिब ८४ लाख २९ हजार भक्तजनले स्नान गरेको बताएको छ । महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थासहित डुबुल्की लिएका छन् । महाकुम्भ सन् २०२५ विश्वकै सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गरीरहेको छ ।
महाशिवरात्रि (२६ फेब्रुअरी) सम्म यो भव्य कार्यक्रम चल्नेछ । गङ्गा, यमुना र अहिले लुप्त भइसकेको सरस्वती नदीको त्रिवेणीस्थललाई तीर्थहरूमध्ये श्रेष्ठ मान्दै प्रयागलाई ’तीर्थराज’ भन्ने गरिएको छ । हिन्दू धर्मावलम्बीहरू ती नदीको सङ्गममा गएर स्नान गर्छन् । तीर्थालुहरू त्यहाँ स्नान गर्दा पाप पखालिने, आत्मा शुद्ध हुने अनि जीवन र मृत्युको चक्रबाट मुक्त हुँदै मोक्ष प्राप्ति हुने विश्वासका साथ स्नान गर्ने मानिसहरुको थामिनसक्नु भिड लागेको छ । अन्तरिक्षबाट पनि देख्न सकिने बताइएको उक्त महाकुम्भ मेलालाई संयुक्त राष्ट्रसङ्घले मानवजातिको ’अमूर्त सम्पदा’को मान्यता समेत दिएको बिबिसी उल्लेख गरेको छ ।