काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ताप्लेजुङको पाथिभारा क्षेत्रमा केबुलकार निर्माण र प्रहरी दमन रोक्न माग गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लिङ्देनले संवादबाट समस्याको समाधान खोज्न सुझाएका छन् । केबुलकार निर्माणको काम ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरामा भइरहेको र विरोध गर्दै ‘नो केबुलकार’पक्षले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ जोड्ने सडकहरूमा मंगलबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि लिङ्देनको धारणा सार्वजनिक भएको हो ।
उता एमाले सांसद योगेशकुमार भट्टराईले भने बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर केबुलकार निर्माणको काम निर्वाध रूपमा हुनुपर्ने बताएका छन् । ‘नो केबुलकार’पक्षलाई आन्दोलन फिर्ता लिन आह्वान गरेका छन् ।