काठमाडौं,सहकारी ठगीसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज पनि सकिएन। आज जाहेरवालाका तर्फबाट बहस सकिएको र प्रतिवादीका पक्षबाट बहस सुरु भएको रुपन्देही जिल्ला अदालतले जनाएको छ। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
आज जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए । प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा र अर्का वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए ।
बिहीवार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए। त्यसपछि जाहेरवालाका तर्फबाट बहस सुरु भएकोमा आज जाहेरवाला पक्षका वकिलले बहस सकेका र आजै प्रतिवादीका तर्फबाट बहस थालिएको हो।
सहकारी ठगी र संगठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहितलाई अभियुक्त बनाएर आइतवार पुरक मुद्दा दर्ता गरेको थियो। सहकारी ठगी प्रकरणमै लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।