विराटनगर, ललितकला संगमको आयोजनामा आज विराटनगरमा कलेजस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कोशि प्रदेशको विराटनगरमा भएको उक्त प्रतियोगितामा १५ वटा विद्यालयबाट ३३ जना बिद्यार्थीहरु सहभागी भएका थिए ।
जसमध्ये प्रतियोगिताबाट उत्कृष्ट आर्ट गर्ने टप १० विद्यार्थीहरु छनौट गरीएको छ । छनौट भएका विद्यार्थीहरुलाई ललितकला संगमले विभिन्न अबसरहरु दिदै अगाडी बढाउने बताएको छ । उपस्थित प्रतियोगीहरुले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई आयोजक संस्थाका सल्लाहाकार निवास पोख्रेल र कोषाअध्यक्ष सविन उपाध्यायले गरेको निर्णायकको मूल्याङ्बाट टप १० विद्यार्थी छनौट गरेको ललित कला संगमका अध्यक्ष जय प्रकाश चौधरीले बताए ।
छनौट भएका १० विद्यार्थीहरुमा आर्दश माविबाट सुप्रिता राय, शिक्षदिपबाट अपेक्ष राई र सिरीन भट्टराई, भानु मेमोरियलबाट आर्यन झा र अस्मिता लेखि, मेरील्याण्डबाट संजना यादव र नन्दनी चौरडिया, एभरेष्टबाट अग्रणी राई, सेन्टमेरीबाट सुहानी श्रेष्ठ र अरनिकोबाट प्रतिक्षा बस्नेत रहेका छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीले एवार्ड सहित प्रमाणपत्र वितरण गरेकी छिन् ।
प्रमाणपत्र दिदै सुवेदीले सहभागीहरुलाई कलालाई निरन्तरता दिन सल्लाह दिएकी छिन् । कला संस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै सबैले बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्नुपर्ने बताइन् ।