काठमाडौं, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज ब्रेक थ्रु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले विष्फोट गराएर छिचोलेको थियो ।
ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बस दुर्घटना हुने, सवारी साधनहरु पहिरोमा पर्ने समस्याबाट नागरिक पीडित भएको समस्या देखेर त्यसलाई अन्त्य गर्न सुरुङ मार्ग बनाउन सुरु गरिएको बताए । ब्रेक थ्रु कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।








