काठमाडौं, काठमाडौं महानगरपालिकाले चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल) का सन्दर्भमा ठमेलमा नेपालस्थित चिनियाँ दूतावासले आयोजना गर्न लागेका कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ ।
चिनियाँ दूतवासका डपुटी चिफ अफ मिसन वाङ सिनले एकसाता अघि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबल र तामाङ नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए । पत्रमा काठमाडौं महानगरपालिकालाई सह–आयोजक बस्न समेत प्रस्ताव गरिएको थियो ।
लगत्तै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो । तर, काठमाडौं महानगरले ट्राफिक व्यवस्थापनको चुनौति र अस्तव्यस्तताको कारण उल्लेख गर्दै ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ ।








