काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् दाहालले ओलीको राजीनामा माग गरेका हुन् । आफु सरकारमा जान हतारिएको नभई संविधान संसोधन २०८७ मा गर्ने भनेर प्रधानमन्त्रीले भनेपछि गठबन्धनको औचित्य पनि सकिएकाले नैतिकताको आधारमा राजीनामा दिनु उचित भएको प्रचण्डले बताएका छन् । पत्रकार सम्मेलन गरेर संघीय संसदभित्रका सात विपक्षी दलले ओली सरकारले भ्रष्टचारलाई बढवा दिएको र अन्तराष्ट्रिय सबन्ध सन्तुलित राख्न नसकेको आरोप पनि लगाएका छन् ।
आरोप लगाउने प्रतिपक्ष दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी छन । यस्तै सात दलले अविलम्ब संसद् बैठक बोलाउन माग गरेका छन् । सात पार्टीले संयुक्त वक्तव्य जारी गर्दै संसद् बैठक बोलाउन माग गरेका हुन् ।
अध्यादेश जारी गर्दै सरकारले संविधानको मर्म तथा भावनामाथि प्रहार गर्नुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन गरेको सात दलको ठहर छ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा आँफुहरु कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत ७ दलेले दिएका छन् ।
विगतमा अघि बढाइएका गिरीबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।








