काठमाडौ, विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ । अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो ।
कंसाकारलाई २ वर्ष ६ महिना कैद सजाय भएको छ । अधिकारीलाई १ वर्ष ९ महिना,ढुंगाना र लामिछानेलाई १ वर्ष ६ महिना कैद सजाय तोकिएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएकाहरूलाई १२ करोड २४ लाख रुपैयाँका दरले जरिवाना सुनाएको छ । अहिलेसम्म भएका ठूला अनियमिता काण्डमध्येको एक, वाइडबडी विमान खरिद भ्रष्टाचारको आरोपलाई विशेष अदालतले प्रारम्भिक रुपमा अनुमोदन गरेको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो । निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको अदालतले ठहर गरेको छ । उक्त रकम दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै २०८० चैत २२ गते विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार प्रकरणमा विदेशी कम्पनीका प्रतिनिधिहरू पनि दोषी ठहर भएका छन् । विदेशी नागरिकहरू दीपक शर्मा,ओलिग क्यालिस्त्रु,जोन होल्मेस,अना टोपा,पाउलो मोरपुरी,गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्यालेन दोषी ठहर भएका हुन् ।
उनीहरूको हकमा पनि एक वर्ष ६ महिना कैद र जनही १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना तथा बिगो असुलको फैसला भएको विशेष अदालतले जनाएको छ । भ्रष्टाचार प्रकरणमा दुईजना विदेशी नागरिकले सफाइ पाएका छन्। मार्कुस रेडब्रुच र स्प्रिङगरले सफाइ पाएका हुन् । सोही मुद्दामा तत्कालीन पर्यटनमन्त्री जीवबहादुर शाहीले भने सफाइ पाएका छन्। शाहीसँगै अन्य नेपाली प्रतिवादीहरूले सफाइ पाएका छन् ।