काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो । पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो । जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एकरएक विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए ।
जारी एनपीएलको सबैभन्दा महंगो क्लब पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा पनि चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । दुई खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित तेस्रो र एक खेलबाट दुई अङ्क बटुलेको सुदूरपश्चिम रोयल्स चौथो स्थानमा छन् । यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी लायन्स, दुई खेल खेलेको कर्णाली याक्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अङ्क बटुल्न सकेका छैनन् ।