काठमाडौं, काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।
आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान लिइएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो । सो सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ ।
ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् । वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ । लामिछानेलाई हिजो कास्कीबाट काठमाडौँ ल्याइ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । उनीविरुद्ध मंसिर २ मा काठमाडौं प्रहरीले पक्राउ अनुमति पाएको थियो ।