काठमाडौ, सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे उर्फ राजीव गुरुङ काठमाडौंबाट पक्राउ परेका छन् ।
उनलाई सीआईबीका डीएसपी नेतृत्वको टिमले काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो । मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । आफूले चलाउने मोबाइल काठमाडौँ उपत्यका बाहिर पठाएर काठमाडौँमा लुकेर बसेको सूचनाका आधारमा उनी पक्राउ परेका छन् ।
उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ । गण्डकी प्रदेश सभा सदस्य उनी ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट एक साताअघि दोषी ठहर भएका थिए । त्यसयता फरार रहेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो । सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो ।
उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा माग दाबी नपुग्ने फैसला भएको हो । गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो । सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन् । उनी अब करिब ३ वर्ष मात्र जेलबसे पुग्छ ।