काठमाडौं, कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
मानव तस्करीको आरोप लगाएका अधिकारीलाई मोरङ प्रहरीले आइतबार उनकै निवासबाट पक्राउ गरी जहाजबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याएपछि जिल्ला प्रहरी परिसरले अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका तीन जनाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।