काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ । लामिछानेलाई कात्तिक २ गते काठमाण्डौमा पक्राउ गरेर कास्की लगेपछि प्रहरीले आज चौथो पटक अदालतमा उपस्थित गराएको हो । रास्वपाले लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन गरेको छ ।