काठमाडौं, नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो । एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित हालेको रिटमा यस्तो आदेश भएको हो।
एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए । गुरुङले जग्गा दान दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा भवनको शिलान्यास पनि गरिसकेका छन् । भवन पनि उनैले बनाइदिने घोषणा गरेका छन् ।
गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो, त्यहाँ उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए । यो घटना सार्वजनिक भएपछि एमालेको आलोचना भएको थियो ।
अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।