काठमाडौं, बङ्गालको खाडीमा विकसित भएको दाना चक्रवातको सामान्य असर फेरी नेपालमा पनि देखा परेको छ । त्यसको आंशिक प्रभावले कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ भने कोशी, मधेस, बागमती प्रदेशमा बादल लागेको छ ।
‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ ।
हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । दाना चक्रवातको सबैभन्दा बाहिरी घेराका हल्का बादलमात्र नेपालसम्म आउने मौसमविदले बताएका छन् । चक्रवातको असरले कोशी प्रदेशको तराईदेखि पहाडसम्मै हल्का वर्षाको सम्भावना छ । तर अन्य स्थानमा खासै वर्षाको सम्भावना नभएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
यस्तै जल तथा मौसम विभागका अनुसार भोली शनिवार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने कतै सफा रहने छ । पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै आइतबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि कतै मौसम सफा रहने छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।








