काठमाडौँ, सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले अझै थप सात दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
दुवै जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेस गरिएको थियो । त्यसपछि भएको बहसका क्रममा न्यायाधीश पौडेलले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन् । रास्वापा सभापति लामिछानेलाई अदालतले यसअघि दिएको ६ दिनको म्याद आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
यस्तै पूर्वडीआईजी छविलाल गत असोज ६ गते पक्राउ परेका थिए । पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ । यता कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् ।
रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ । सोक्रममा २ सेल अश्रुग्यास हानिएको छ । रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भएका छन् । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको छ । पार्टी कार्यकर्ता र समर्थकले नारावाजी गरिरहेका छन् । प्रहरीले पानीको फोहोरा फ्याँक्ने गाडी समेत तयारी अवस्थामा राखेको जनाएको छ ।