असोज २८,२०८१ / ०७ : ४७ पूर्वान्ह / 2024-10-14 07:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      फेरी मनसुन सक्रिय, हिले दशै हुने सम्भावना,सर्तकता अपनाउन अनुरोध

      - एक हप्ता अगाडि
      असोज १६,२०८१

      काठमाडौं, असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको  हुँदा यात्रा गर्दा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

      आज सुनसरीको तरहरा र आसपास ठूलो वर्षा भएको जल तथ मौसम विज्ञान विभागले जनाएको छ भने कोशी प्रदेशका अन्य केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा भईरहेको छ । आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा एवं राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरेको महाशाखाले जनाएको छ । यो क्रम शुक्रबारसम्म जारी रहने बताइएको छ ।

      असोज १० गतेदेखिको अति ठूलो वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावत रहेकाले सचेत रहन सबैमा आग्रह गरेको छ । यस्तै उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सो क्षेत्र भएर बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया लगायत खोलामा आकस्मिक बाढी आउन सक्ने र होचो भूभाग डुबानमा पर्ने जोखिम रहेकाले सतर्क रहन सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

      विभागले आज मोरङ, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको अनुमान गरिएको जनाएको छ । साथै भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र आसपास जिल्लाका ससाना नदीमा समेत बहाव बढ्ने पूर्वानुमान रहेको छ ।

      कोशी र बागमती प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार ‘हाइ अलर्ट’मा रहन सबै निकायलाई गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । उनले आज र भोलि देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले सोही अनुसार सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका हुन् ।

        सम्बन्धित समाचारहरु