काठमाण्डौ, यातायात व्यवसायीले सार्वजनिक बसको चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गएको शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढी पहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको र गाडी चलाउने÷नचलाउने अन्योलमा रहेको भन्दै व्यवसायीले टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् ।
टिकट बुकिङ शुरू गरेकै दिन १२ गतेको विपद्ले बस सञ्चालन हुन नसकेकाले बुकिङ बन्द गर्ने तयारी गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन् । उनले आज महासङ्घको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने र सबैको राय सुझाव समेटेर निर्णय गर्ने बताएका छन् ।
१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ । सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ । सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन् । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द जस्तै छ । घटस्थापनाको दिनदेखि टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर त्यसबेलासम्म बस सञ्चालन हुनसक्ने अवस्था नरहेको यातायात व्यवसायीको तर्क छ ।