काठमाडौं, आगामी बुधबारबाट कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान गरीएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आज सोमबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ ।
जसका कारण देशभर बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ९३ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि सोमबार बिहानसम्म बाढी पहिरोमा परेर ९६ जना घाइते भएका छन् भने ३१ जना सम्पर्कविहीन छन् ।
मंगलबार अपराह्नदेखि कोशी प्रदेश लगायतका पूर्वी भूभागका जिल्लाहरुमा बादल लागेर हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याएको छ ।