काठमाडौं, बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ९३ जनाको मृत्यु भएको छ ।
शुक्रबारदेखि सोमबार बिहानसम्म बाढी पहिरोमा परेर ९६ जना घाइते भएका छन् भने ३१ जना सम्पर्कविहीन भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच देशभरबाट ३ हजार ७०५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आज सोमबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।