काठमाडौं, यो वर्षको दशैँका लागि नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण थालेको छ । आज देखि असोज २२ गतेसम्म सुकिला नोट साट्न पाइने केन्द्रीय बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा आइतबारदेखि नोट सटही सुरु भएकोले उक्त बैंकहरुबाट सुकिला नोट साट्न पाइनेछ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न राष्ट्र बैंकले सूचित गरेको छ ।
डिजिटल भुक्तानी बढ्दै गएको र चलनचल्तीमै रहेका नोट समेत फर्कन थालेको तर्क गर्दै केन्द्रीय बैंकले यो वर्ष सुकिला नोट वितरण गर्ने निर्णय गरेको हो । दशैँका बेला पूजाआजा र दक्षिणाका लागि २० देखि २५ अर्ब रुपैयाँसम्म नयाँ÷सुकिला नोट माग हुने गरेको छ ।








