काठमाडौं, देशका थोरै ठाउँबाहेक सबैतिर निरन्तर पानी परिरहेको छ । केही ठाउँमा निकै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको बर्षाले काठमाडौँ उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ ।
उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै सुनसरीको चतरा, तरहरा, मोरङको केराबारी, विराटनगर एअरपोर्ट, हरैचा, बाउने र आसपास ठूलो पानी परेको छ । सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढी तथा होचो भागमा डुबानको जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
शनिबार बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिएका छन् । उनका अनुसार आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने अनुमान छ ।