विराटनगर, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबार विराटनगरमा कृषि एक्स्पो सुरु भएको छ । भदौ २७ देखि ३० सम्म लाग्ने कृषि एक्सपो २०२४ को उद्घाटन समारोहमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाली बजारमा दूधको खपत नहुँदा दुग्ध किसान तथा व्यवसायी मर्कामा परिरहेको बताएका छन् ।
मन्त्री अधिकारीले देशमै दुग्ध पदार्थको विविधीकरणका साथै बजारी करणको खोजी गर्न आवश्यक रहेको बताएका हुन । यस्तै एक्सोपोको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले नेपालमा उत्पादित कृषि उपजले सहज रूपमा बजार नपाइरहेको अवस्थामा एक्स्पो वा महोत्सवका माध्यमबाट स्वदेशी उत्पादनको खपतमा सहज हुने तथा बजारको सम्भाव्यताबारे जानकारी हुने बताए ।
यसैगरी कृषिको नयाँ अवसरहरूको बारेमा जानकारी हुने साथै आफ्नो व्यवसायलाई विस्तार गर्न र अगाडि बढाउन यो उपयुक्त प्लेटफर्मको रुपमा आयोजना गरिएको कोशी प्रदेशका पूर्व मुख्मन्त्री राजेन्द्र राईले बताए । कृषि एक्स्पोले किसानलाई आकर्षित गर्दै मुलुकको आर्थिक विकासको मुख्य स्रोतका रूपमा रहेको कृषि क्षेत्रलाई अघि बढाउन एक्स्पो सफल हुने कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लब अधिकारीले बताए ।
कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यसहित आयोजना गरिएको कृषि एक्स्पोले राष्ट्रिय अर्थतन्त्रको विस्तारमा सघाउ पु¥याउने सुर्योदय मिल्क एण्ड वेभरेज इण्डिष्ट्र प्रालीका संञ्चालक मनोज यादवले बताए । कोशी प्रदेशमा प्रादेशिक अर्थतन्त्रको एकतिहाई भन्दा बढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवर्द्धन र विस्तारको सम्भावनालाई मध्यनजर गर्दै यसको उत्पादन वृद्धि, बजारीकरण, मूल्य अभिवृद्धिको विकास गरी रोजगारी सिर्जन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
एक्स्पोमा कृषि उत्पादन बिउबिजन, मलखाद र मेसिनरी औजारको समेत गरी १ सय ३० वटा स्टल रहेका छन् भने भारतको विहार र कोलकाताबाट समेतका स्टल रहेका छन् । एक्स्पो अवलोकनका लागि जिल्लाबाहिरबाट आउने कृषकलाई बसोबास र खानपानको समेत निःशुल्क ब्यवस्था गरिएको छ । कृषिका लागि जनशक्ति कम र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो भएपछि एक्स्पोमा भएका औजारले कृषकलाई सहजता दिने विश्वास एक्स्पोले लिएको छ ।
लामो समयदेखि कटहरी गाउँपालिकामा सरकारले निर्माण गरेको कृषि थोक बजार परिसरमा हुने मेलाले कृषि क्षेत्रमा योगदान पुग्ने कटहरी गाँउपाकिाका अध्यक्ष देवराज चौधरीले बताए । कृषि औजार खरिद वा आवश्यकता भएमा एक्स्पोमा आएका कम्पनीहरूले भाडामा मेसिनरी औजार प्रदान गर्ने सुविधा समेत ल्याएको छ ।
एक्स्पोमा कृषकहरूका लागि कृषि विज्ञदेखि विभिन्न व्यक्तिसँग प्यानल छलफलको कार्यक्रम राखिएको छ । एक्स्पोमा कृषि पशुपंक्षी, जलवायु परिवर्तन, जैविक मल तथा विषादी बनाउने र प्रयोगको विधि लगायतका विषयमा छलफल हुनेछ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सञ्चालनका लागि एक करोड रुपैयाँ खर्च हुने बताइएको छ ।