नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर बुधबार सार्वजनिक गरेको हो ।
स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ ।अध्ययनका लागि अमेरिका पुगेकी पाण्डे सोमबार आफ्नै निवासमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । २१ वर्षीय पाण्डे टेक्सास स्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । उनी माथि उनकै निवासमा गोली प्रहार भएको थियो । प्रहरीले सार्वजनिक गरेको सिसीटिभी फुटेजमा मुनाको हत्या भएको स्थानबाट अभियुक्त अगस्ट २४ तारिख राति ९ बजेर ४८ मिनेटमा देखिएको बताएको छ । प्रहरी अनुसन्धानबाट मुनासँग प्रेम सम्बन्धमा रहेका व्यक्ति ती नभएको खुलेको छ । भोजपुर स्थायी घर भएकी मुना शनिबार देखि सम्र्पकबिहीन भएकी थिइन् । उनलाई प्रहरीले घरमै सोमबार मृत अवस्थामा भेटेको हो । प्रहरीले उनी माथि केही राउण्ड गोली प्रहार भएको बताएको छ । अनुसन्धानका काक्रमा प्रहरीले नेपालमा रहेकी मुनाकी आमा अनितासँग समेत कुरा गरेको खबरमा उल्लेख गरिएको छ । प्रहरीसँगको कुराकानीमा उनकी आमाले आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन् । उक्त सम्बन्ध तनावपूर्ण बनेकै कारण मुनाको हत्या भएको आशंका प्रहरीले गरेको थियो । तर सार्वजनिक तस्बिर भने उनका प्रेमीको नभएको प्रहरीले प्रष्ट पारेको छ । मुना अध्ययनका लागि तीन वर्ष अघि मात्र अमेरिका गएकी थिइन् । त्यहाँको प्रहरीले घटनाको गम्भीर रुपमा छानबिन भइरहेको बताएको छ ।