काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने पहल सुरु गरेका छन् । पत्रकार विद्या चापागाइँले तयार पारेको ‘हेर्ने कथा मार्फत चर्चामा आएका प्रकाशलाई नागरिकताको आवश्यकता महसुस गरी प्रधानमन्त्री ओलीले गएराति नै गृह सचिव एकनारायण अर्याललाई व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशलाई तत्कालका लागि नागरिकताको आवश्यकता देखिएकाले दुई–चार दिनमै नागरिकता दिलाउन सहजीकरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई–चार दिन भित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएका छन् । यसबारे तामाङलाई पनि जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,
शुभ बिहानी हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’