विराटनगर, विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथ यात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने दक्षिण एसियाकै ठुलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान श्री राधाकृष्णको भव्य रथ यात्रा आज दिउँसो ३ बजेर ३० मिनेटमा विराटनगरमा निकालिने तयारी पुरा भएको रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ ।
आज निकालिने ऐतिहासिम रथ यात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका नागेश कोइरालाले उद्घाटन गर्नेछन् । उदघाटनपछि राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुने आयोजकले जनाएको छ ।
यस्तै आज निकलिने रथयात्रामा ईटहरीस्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ । रथ यात्रालाई भव्य र सभ्य बनाउनका निम्ति १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर बस्नेतका अनुसार रथ यात्रामा चोरी तथा अन्य घटना हुन नदिन र सुरक्षा व्यवस्थाको लागि कडाईका साथ जनपथ, सशस्त्र प्रहरीसंगै, ट्राफिक प्रहरी लगायत पिकेट समेत परिचालन गरिने छ ।
रथयात्रा, मन्दिर परिसर तीनपैनी मेनरोडबाट ट्राफिक चौक र रोडशेष चौकबाट विराटनगर धरान रोड हुदै बरगाछीबाट पुनः मन्दिरमा पुगेर समापन हुने आयोजक समितीले बताएको छ । करिब ९ किलोमिटरको रुट तय गर्दै ६ घण्टाको अवधिमा रथ यात्राले विर्सजन लिने भएको छ । आजको ऐतिहासिक राधा कृष्ण रथ यात्राको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।
यसपटकको रथको मध्य भागमा युगलजोडी भगवान् श्रीराधाकृष्णलाई आरूढ गराई ५ जना पंडितको समुह, प्राविधिक १ जना, कमिटिको तर्फबाट १ जना गरी ७ जना रथमा रहने व्यवस्था गरिएको छ । उक्त रथको अग्र भागमा विभिन्न जातजाती, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरूको ताँती रहने जनाइएको छ । रथ यात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईको छ जसको लम्वाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ ।
यस रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठ्ठा डोरी रहने छ । जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरूले लठ्ठा समाई उक्त लठ्ठालाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ । यस वर्षको रथयात्रा समारोहको मुख्य आकर्षण रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्ट गुच्छा वर्षाइने मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
विराटनगरको श्री राधाकृष्ण रथ यात्रा भारतको जगन्नाथपुरी पछि दक्षिण एसियाकै सबैभन्दा ठुलो रथयात्रा मानिएको छ । यसपटकको रथयात्रामा नेपाल र भारतका ५ लाख भन्दा बढी भक्तजनहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।
ऐतिहासिक राधा कृष्ण रथ यात्राको प्रत्यक्ष प्रसारण चिनारी मिडियाबाट हुन गईरहेको छ ।