तनहुँमा आज बिहान भएको बस दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाले मेडिकल टिमसहितका हेलिकप्टर पठाएको छ । घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पोखराबाट काठमाण्डौका लागि छुटेको भारतीय नम्बर (यूपी ५३ एफटी ७६२३) को बस मर्स्याङ्दी नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा रहेको छ । बसमा ४० जना रहेको प्रारम्भिक विवरण छ ।