मंसिर २६,२०८१ / ०९ : ४५ अपरान्ह / 2024-12-11 09:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौँमा बाढी : भारी वर्षाले जनजीवनलाई गम्भीर असर

      - एक हप्ता अगाडि
      श्रावण १६,२०८१

      मंगलबार राति काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रहरूमा आएको भारी वर्षासँगै बाढीले जनजीवनलाई गम्भीर रूपमा प्रभावित पारेको छ । काठमाडौँ, ललितपुर, र भक्तपुरका नदी किनारका बस्तीहरू बाढीको चपेटामा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।

      उद्धार गरिएको व्यक्तिहरूमा काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना छन् भने नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको छ । कीर्तिपुरको सुन्दरीघाटमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार भएको  छ । बाढीका कारण बल्खुमा रहेको तरकारी बजार, बाफल, धोबिखोला करिडोर र सुन्दरीघाटमा डुबानको समस्या उत्पन्न भएको छ । ललितपुरका युएन पार्क क्षेत्रबाट दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट सात र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छ जनाको उद्धार गरिएको छ ।

      काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ, र नयाँ बसपार्क र मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । 

      बाग्मती नदीको किनारमा रहेको शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, र ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । ललितपुरको च्यासलमा रहेको एन्फाको फुटबल मैदान र नेकपा एमालेको केन्द्रीय कार्यालयमा पनि बाढी प्रवेश गरेको छ ।

      यसैगरी, बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर आसपास पनि बाढीको असर परेको छ । इमाडोलको किस्ट अस्पताल र पवन प्रकृति स्कुलका वरिपरिका क्षेत्रहरूमा गोदाबरी खोलाको बाढी बस्तीमा प्रवेश गरेको छ ।

      भक्तपुरमा हनुमन्ते नदीको बहाव बढेको कारणले धेरै तटीय बस्तीहरू डुबानमा परेका छन् । भक्तपुरका हनुमानघाट, जगाती, च्यामासिंह, सूर्यविनायकको राम मन्दिर, बाराहीस्थान, र सल्लाघारीका बस्तीहरूमा बाढी पसेको छ ।

      मध्यपुर थिमीको राधेराधे, चारदोबाटो सागबारी, गठ्ठाघरको तल्लो बेल्ट, र बालकोट जस्ता स्थानहरूमा पनि बस्ती डुबानमा परेका छन् ।  यसअघि डुबानको चपेटामा नपरेका केही बस्तीमा ढलको पानी बग्न थालेपछि डुबानको समस्या देखिएको छ ।

      सिद्धिस्मृति अस्पतालमा पानी पसेकोले सेवामा ठप्प भएको छ । भक्तपुरको पुरानो जगाती पुल नजिकको कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ स्थित फर्निचर उद्योगमा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

      यस समस्याबाट प्रभावित जनताको उद्धारमा स्थानीय प्रशासन र उद्धारकर्ताहरूको सक्रियता आवश्यक भएको छ ।

        सम्बन्धित समाचारहरु