काठमाडौँ, आज हुन लागेको काठमाडौं उपत्यका केन्द्रित प्रदर्शनको सुरक्षाका लागि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्लाका चोकचोक र गल्ली तथा सडकहरूमा सुरक्षा फोर्सको परिचालन गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकामा अत्यावश्यक काम बाहेक सडकमा सवारी साधन ननिकाल्न अनुरोध पनि गरेको छ ।
आज दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, जनता बचाउँ महाअभियान र राष्ट्रिय युवा संघ नेपालले विभिन्न ठाउँहरूबाट र्यालीसहित प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा समस्या हुन सक्ने भएकाले सकेसम्म सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।
अप्रिय घटना नहोस् भनेर प्रहरीले सिभिल ड्रेसमासमेत प्रहरी परिचालन गरेको छ। सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि फिल्डमा खटिएका छन्।
ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५।५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।








