काठमाडौँ, सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।
हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।
सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् ।
सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।