फागुन २२,२०८० / ०७ : १८ अपरान्ह / 2024-03-05 07:18 pm
      • param ad
      • furniture
      • veera Incorporation

      तीजको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो, पशुपतिमा चार लाइनको व्यवस्था

      - २ हप्ता अगाडि
      असोज १,२०८०

      काठमाण्डौ, आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन हिन्दू धर्मालम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् । यसै दिन आज दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

      कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ ।

      यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ ।

      दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ ।

      तेस्रो लाइन गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल बज्रघरअघिको भागमा राखिनेछ ।

      चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ताचप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ ।

      यसैबीच पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत गरी नगद जरिवानासमेत गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवम् भिडियो खिच्न मनाही गरिँदै आएको छ ।  कोषले आज बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न पनि रोक लगाएको छ ।

      सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

        सम्बन्धित समाचारहरु