विराटनगर, कोशी अञ्चलको मोरङ जिल्ला र धनकुटा जिल्लाको सिमानामा अवस्थित पर्यटकीय स्थल ध्वजे डाँडामा २०४ देशको झण्डा फहराइने भएको छ ।
२ हजार ४७ मिटर उचाइमा रहेको बाह्रैमास ठन्डा र मनोरम प्राकृतिक माहोलले लोभ्याउने उक्त ध्वजेडाँडामा बिश्वभरका २०४ मुलुकको झण्डा राखिने भएपछि स्थानियवासीहरु ध्वजे डाँडालाई फ्लाग हिल भन्न थालेका छन् ।
गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुशार सोमबार पहिलो चरणमा २२ मुलुकको झन्डा राखिएको छ । अब विश्भरका सबै मुलुकको झन्डाले डाँडालाई सजाउने योजना रहेको उनले बताएका छन् ।
विश्वभरका झन्डा राख्ने योजनाका लागि अनुमानित खर्च ६ लाख ३३ हजार १ सय ४ रुपैयाँ रहेको उनले बताएका छन् । जसमध्ये नेपाल पर्यटन बोर्डबाट ५ लाख, गाउँपालिकाबाट १ लाख २५ हजार र जनसहभागिताबाट ३५ हजार ६ सय ४ रुपैयाँ जुटाइएको छ ।
उक्त झन्डा राख्नका लागि स्थानिय राजकुमार लिम्बुको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन गरिएको छ ।
सो आयोजनाको सम्झौता जेठ १० मा भएको थियो । सम्झौता भएको एक महिनामै २२ मुलुकको झन्डा राख्ने काम सम्पन्न भएको हो ।
अहिलेका बेलायती राजा चाल्र्स राजकुमार भएका बेला भेडेटारको मौसमसंग लोभिएका थिए । त्यो बेला उनले भेडेटारको ध्वजेडाडाँमा उक्लिएर उत्तरतर्फको हिम श्रृंखला र दक्षिण तर्फको धरानलगायतको समथर भुभाग देखेर मख्ख परेका थिए । चाल्र्सले चढेको ध्वजेडाडाँलाई त्यसपछि चाल्स प्वाइन्टको नामले चिन्न थालियो । त्यसपछि विस्तारै भेडेटारले पर्यटकीय गन्तब्यको रुप पाउदै गयो । त्यहि मेसोमा त्यहाको पूर्वतर्फ रहेको नाम्जे पनि होमस्टेको रुपमा चर्चित हुदै गयो । नाम्जे पछि राजारानी ताल अनि मौनाबुधक हुदै पूर्वतर्फ बढ्दै गएको पर्यटकीय क्षेत्रको विकास अहिले जेफाले सम्म विस्तार भएको छ ।
मोरङको विराटनगर र धनकुटा सदरमुकामबाट समान ५०/५० किलोमिटर दूरीमा रहेको ध्वजेबाट मौसम सफा रहेका बेला पूर्वी क्षेत्रका विभिन्न जिल्ला देखिने पर्यटन व्यवसायहरु बताउँछन् ।
डाँडाबजारबाट करिब डेढ किलोमिटर ठाडो उकालो पैदल दूरीमा पर्ने ध्वजे नजिकसम्म पछिल्लो समय सवारी साधन समेत पुग्छ । उत्तरतर्फ मकालु, कुम्भकर्ण र कञ्चनजंघा लगायत हिमालले लोभ्याउँछ । दक्षिणतर्फ पूर्वी मधेशको फराकिलो फाँट नियाल्न सकिन्छ ।








