माघ १९,२०७९ / ०९ : २८ अपरान्ह / 2023-02-02 09:28 pm

        तराईमा फेरि शीतलहरले जनजीवन प्रभावित, सतर्कता अपनाउन अनुरोध

        - ३ हप्ता अगाडि
        पौष २७,२०७९

        काठमाण्डौ, तराईका जिल्लामा फेरि शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

        गएको २४ गतेदेखि मौसममा सुधार आए पनि गएको ३ दिन देखि फेरि बाक्लो हुस्सु कुहिरोले ढाकेको मौसमविदले जनाएका छन् ।

        जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका विभिन्न जिल्लामा ३ दिन देखि मौसम खुलेको छैन । हिजो बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यसअघि केही दिन दिउँसोसम्म हुस्सु कुहिरो लागे पनि बेलुकी पख हट्ने गरेको थियो । यसले गर्दा केही राहत मिलेको थियो । तर, पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नबन्दा फेरि शीतलहर चलेको छ । शीतलहरका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सचेत रहन तराई मधेसका बासिन्दालाई मौसमविद्को आग्रह छ ।

        शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । अरु समयमा तापक्रममा उतारचढाव आउने गरे पनि शीतलहर चलेको बेला खासै उतारचढाव नआउने भएकाले जाडो धेरै हुन्छ ।

        यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोेखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित हुन स्वस्थ्यकर्मीहरुले अनुरोध समेत गरेका छन्  ।

        यस्तै  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

        जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र  गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत छ ।

        विभागले आगामी २४ घण्टा देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

        हाल पहाडी भू–भागमा आंशिक बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

          सम्बन्धित समाचारहरु

              • ताजा खबर
              • धेरैले पढेको