मंसिर २०,२०७९ / ०२ : १९ अपरान्ह / 2022-12-06 02:19 pm

        एक मतदाताले औसतमा ३ मिनेटभित्र चारवटा मतपत्रमा मतदान सम्पन्न गर्न सक्ने

        - २ हप्ता अगाडि
        मंसिर ४,२०७९

        काठमाडौं, आज देशभर एकैसाथ प्रतिनिधि तथा प्रदेशसभाका लागि मतदान भइरहेको छ । मतदाताहरू बिहान ७ बजेदेखि नै मतदान केन्द्रमा उत्साहका साथ पुगेका छन् ।

        स्थानीय तह र संसदीय चुनावको मतदान प्रक्रिया भने फरक छ । स्थानीय चुनावमा एकै मतपत्रमा विभिन्न पदाधिकारीलाई भोट हालिएको थियो भने यसपटक एक मतदाताले एकैपटक चार फरक मतपत्रमा मत हाल्दैछन् । प्रतिनिधिसभा तर्फको प्रत्यक्ष र समानुपातिक र प्रदेशसभा तर्फबाट प्रत्यक्ष र समानुपातिक गरी चार थरी उम्मेदवारलाई मतदान गर्नका लागि चार मतपत्रको व्यवस्था गरिएको हो ।

        मतदान प्रक्रियामा एक जना मतदाताले औसतमा ३ मिनेटभित्र चारवटा मतपत्रमा मतदान सम्पन्न गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । पाँच वर्षपछि पाएको यो अवसरमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० ले मतदान गर्दैछन् । १० हजार ८ सय मतदानस्थलमा रहेका २२ हजार २ सय २७ मतदान केन्द्रबाट मताधिकारको व्यवस्था गरिएको छ ।

        प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् भने प्रदेशसभाका लागि तीन हजार २२४ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यस्तै समानुपातिकतर्फ भने १ सय १० सिटका लागि देशभरबाट दुई हजार १ सय ९९ उम्मेदवार प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको २ सय २० सिटका लागि ३ हजार ७ सय ८ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

          सम्बन्धित समाचारहरु