काठमाडौं, आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन ।
यस दिन बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।
यस दिवसमा जीवित माता पिताहरूलाई छोराछोरीहरूले विभिन्न प्रकारका मिष्ठान्न तथा अरू अनेकौं लगा आदिहरू ल्याई चढाउने चलन छ ।
यसबाहेक दिवंगत भएका आमा बाबुहरूको सम्झनामा तीर्थ गोकर्णमा गई नुहाई धुआई गर्नुको साथै श्रद्धाञ्जलीस्वरूप तर्पण दिने कार्य गर्दछन् ।
सम्बन्धित तीर्थमा जान नसक्नेहरू आ–आफ्ना पुरोहित वा कर्मनिष्ठ ब्राह्मणकहाँ गई सीधा दान दिनेसमेत चलन पुरानो हो ।
बुबाको मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ ।
यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरु पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ । आजको दिन गोर्कंणमा भीड लाग्ने गर्छ ।
नेपाली संस्कृतिमा सबैलाई आ–आफ्नो ठाउँमा समान स्थान दिएको पाउँछौं । जस्तै ठूलालाई आदर सम्मान र सानोलाई माया र स्नेह दिने संस्कृति छ । त्यही अनुरुप बुबा जसले आफ्लाई धर्तीमा ल्याउनुभयो उहाँका लागि हरेक दिन खास छ । तर पनि आजको विशेष दिन भनेर छुट्याइएको छ । हाम्रो समाजमा मातापितालाई साक्षात शिव पार्वतीको रुपमा लिने चलन छ । दार्शनिक रुपमा हर्ने हो भने संस्कारका सबै पुरुष महादेव हुन् भने सबै महिला पार्वती हुन् । त्यस रुपमा पनि त्यो अवधारणाको विकास भएको हो ।”
भौतिक शरीर नष्ट भए पनि हरेक वर्ष सम्मानका साथ श्राद्ध गर्ने चलन छ र यसदिन विशेष स्मरण गरेर जीवित बुबालाई र पितृलाई सम्मान गर्ने चलन छ ।








