असोज ६,२०७७ / ०६ : ०० पूर्वान्ह / 2020-09-22 06:00 am
      • Salt Trading

      सिन्धुपाल्चोकमा बाढीपहिरोबाट २ महिनामा ७४ जनाको मृत्यु, ४१ बेपत्ता

      - ६ दिन अगाडि
      भाद्र ३०,२०७७

      सिन्धुपाल्चोक, निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले धनजनको ठूलो क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ जना बेपत्ता छन् ।

      आइतबार बाह्रबिसे नगरपालिका ७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ जना अहिले पनि बेपत्ता छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिले पनि बेपत्ता छन् ।

      असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो । बाह्रबिसे नगरपालिका ५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना हालसम्म पनि हराइरहेका छन् ।

      सोही दिन भोटेकोशी गाउँपालिका ४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । साउन १ गते भोटेकोशी गाउँपालिका ४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो । लामो प्रयासपछि शव फेला परेको थियो ।

      गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका ११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाए ।

      यस्तै मेलम्चीमा दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो । सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका २ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए ।

      साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन् ।

      सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम शुरु भएयता ७४ जनाले ज्यान गुमाएका छन् । पहिरोमा हालसम्म ४१ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

      पहिरोमा परी जिल्लाभर एक सय ३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् ।

      पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार चार सय ४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले बताए ।

      यस्तै भोटेकोशीमा आठ सय ७५, जुगल गाउँपालिकामा चार सय आठ, मेलम्ची नगरपालिकामा एक सय ४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालले बताए ।

      जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई ११ लाख ८५ हजार र पहिरोपीडितलाई १० लाख नौ हजार राहत वितरणसमेत गरिएको प्रमुख ढकालले जानकारी दिए । रासस

        सम्बन्धित समाचारहरु