काठमाडौँ, लकडाउनले आम्दानीको स्रोत बन्द भएको भन्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा ट्याक्सी चलाउन नपाएर ट्याक्सी व्यवसायीहरुले रोगले नभइ भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।
सरकारलाई १५ गतेसम्म आफ्नो माग सम्बोधन गर्न समय दिइएको तर सरकारले बेवास्ता गरेपछि विरोध स्वरुप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत सरकारलाई बुझाइए अखिल नेपाल यातायात मजदुर संघ वागमती प्रदेशका अध्यक्ष दीपक केसीले बताए ।
उनले ट्याक्सी सन्चालन गर्न नपाउादा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले यातायात व्यवस्था विभाग मार्फत सरकारलाई चाबी बुझाएको बताए । उनले अहिले ट्याक्सी मात्रै बुझाइएको तर सरकारले सम्बोधन नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनी समेत दिएका छन् ।








