म घर छोडेको अन्तिम दिन,
बाको एउटा आँखाबाट तप्प खस्यो,
एक थोपा भोको निराशा !
र अर्को आँखाको परेलिमा झुन्डिइरह्यो भोलिको भातको भरोसा!
म घर छोडेको अन्तिम दिन!
आमाको एउटा आँखाबाट
खस्यो एक थोपा प्रेम !
अछेता मुछिरहेको थालिमा !
र अर्को आँखा तेर्सियो म आएको बाटोमा! चामल बोकेर फर्किने आशाले!
म घर छोडेको अन्तिम दिन !
दैलोमा भाउजुले
दाइ नफर्केको कुरा सम्झेर
एक थोपा दाइ खसालिन् एउटा आँखाबाट!
र अर्को आँखाको डिलमा
टिलपिल टिलपिर बनाएर अड्याइन्
मेरी श्रीमती को सिउँदो!
म घर छोडेको अन्तिम दिन!
सानी बहिनीले ले खसालिन् एउटा आँखाबाट फाटेको जामा!
र अर्को आँखामा फुलाइन् तिहारका मखमली फुल!
म घर छोडेको अन्तिम दिन!
हजुरबा ले एउटा आँखाबाट खसाले आफ्नो प्यारलाइसेस रोग!
र अर्को आँखामा टल्काइरहेथे ,
बज्यैको अर्बुदलाई धपाउने आशाको दीप!
म घर छोडेको अन्तिम दिन !
बज्यैको एउटा आँखामा टल्किरहेथ्यो बिदाइको बेला कापिरहेका हातका आकृती,
र अर्को आँखाको आँसुमा देखिएथ्यो,
मैले चयनको निद्रा बोकेर ल्याउने समयमा
सधै सधैका लागि आफू निदाउने त्रास !
म परिवारको त्यस्तो आँखा हुँ
जस्ले हेर्ने प्रतीक्षा गरिरहेछ एउटा खुसी !
यसकारण डाक्टर साब!
मेरा आँखाहरु बेचिदिनिहोस्!
जस्ले बचाउन सकोस् मेरो परिवारको दृश्टि !