उसले म बसिरहेको बेन्चको छेउमा कागजको सानो चिट फाली । मैले पुलुक्क हेरें । कागज पट्याएर सानो बनाईएको थियो । टिपिनँ । त्यसै रहँन दिएँ ।
म परीक्षा हलको अन्तिम बेन्चमा थिएँ । पछाडि थोरै मात्र खाली ठाउँ थियो । ऊ त्यहाँ उभिएकी थिई । ऊ घरी पछाडि उभिन्थी । घरी अगाडि जान्थी । यताउता गरिरहन्थी ।
परीक्षा हलमा प्रवेश गर्ने वित्तिकै म केही नर्भस भएको थिएँ । कारण परीक्षाको चिन्ता थिएन । ऊ थिई । ढोकाबाट पस्ने बित्तिकै कापी बाँडेर उभिइरहेकी उसँग आँखा जुधे । त्यसैले उ बाट लुक्न र छेकिनको लागि म अन्तिम बेन्चमा गएर बसँे । संयोगबश सिट प्लानिङ गरेर बेन्चमा सिम्बोल नम्बर टाँसिएको थिएन ।
एल.एल.वी दोस्रो वर्षको परीक्षा दिने प्रायजसो सवै परिपक्क उमेरका थिए । कसैको त टाउकामा सिरु फुलिसकेको थियो । युवा उमेरका थोरै मात्र देखिन्थे । म ती थोरै मध्यको एक थिएँ ।
तर परीक्षा हलमा गार्ड बस्न भने एउटी भर्खरकी युवती आएकी थिई । उमेर बीस वर्षको हारादारीमा हुँदो हो । उसलाई देखेर तीस वर्षको एक अविवाहित पुरुष मेरो मनमा भुकम्प नगई रहँन सक्दैनथ्यो । गयो ।
ऊ सुन्दर मात्र थिईन । सुन्दर भन्दा पनि अझ सुन्दर थिई । गहुँगोरो वर्ण । न धेरै सेती । न काली । सानो बाटुलो अनुहार । मिलेका दाँत । ऊ हाँस्दा लाग्थ्यो त्यो प्रभातकालीन सूर्योदयको समयमा घर्ती हाँसेको हो । केही घुम्रिएको कपाल पछाडि झारेकी थिई । मैले सोचँे, उ परी कथाकी रापुन्जेल हो । म उसको कपालको भ¥याङ चढेर स्वर्ग पुग्न सक्छु ।
उसले कानमा मुन्द्रा लगाएकी थिई । त्यसो त युवतीहरु सबै नै कानमा मुन्द्रा लगाउँछन् । त्यो कुनै उल्लेखनीय र स्मरणीय विषय होइन । तर उसले कानमा एउटा मात्र मुन्द्रा लगाएकी थिईन । एउटै कानमा कम्तीमा तीन–चार वटा मुन्द्रा लगाएकी थिई । गाउँघरमा कोही–कोही महिलाहरु कानभरी तल देखि माथि सम्म लहरै स–साना मुन्द्रा लगाउँथे, लस्करी मुन्द्रा । तर उसको मुन्द्रा लगाई त्यो जस्तो पनि थिएन । केवल त्यसको झल्को दिने खालको मात्र थियो । कारण, उसले लगाएका मुन्द्रा केही ठूलो आकारका थिए । र थोरै संख्यामा थिए ।
उसले सेतो टिसर्ट र खैरो पेन्ट लगाएकी थिई । गलाबाट अगाडिपट्टी सल झारेकी थिई । केही रातो रंगको । त्यसले उसको व्यक्तित्वलाई विशेष बनाएको थियो । थप आर्कषक बनाएको थियो ।
ऊ शारीरिक संरचनाको हिसावले त्यति मोटी थिईन । दुब्ली नै पनि भनिहाल्न मिल्दैनथ्यो । हाफ टिसर्टले नछोपेका उसका नाडीहरु अलि साना तर आकर्षक देखिन्थे । दाहिने हातमा रक्षाबन्धन बाँधेकी थिई । जनै पूर्णिमा सकिएको झण्डै दुई महिना भईसकेको थियो । अझै पनि उसको हातमा रक्षाबन्धन थियो । मैले अनुमान लगाएँ कि ऊ अध्यात्मिक स्वभावकी नारी हो । उसले हातमा मेहेन्दी पनि लगाएकी थिई । अथवा उ आध्यात्मिक स्वभावकी नहुन पनि सक्थी । मैले उसलाई आध्यात्मिक भनेर यसकारणले विश्लेषण गरें हुँला कि मलाई आध्यात्मिक स्वभावका स्त्री मन पर्छ ।
मैले उसको बिषयमा अनेकन अनुमान गर्नेे प्रयत्न गरेँ । उ कसरी यहाँ गार्ड बस्न आईपुगी ? के उ यस कलेजमा पढाउँछे ? या यस कलेजकी कर्मचारी हो ? उसको उमेर देख्दा त उ विधार्थी नै हुनुपर्ने हो । उ कहाँ पढ्छे होली ? के बिषय पढ्दी हो ? म अनेक कुरा सोचिरहेको थिएँ ।
“अब हल्ला नगर्नुस् ।” प्रश्न–पत्र बाँड्दै उसले भनी । म झस्किएँ ।
उसको आवाजमा आत्मविश्वास झल्किन्थ्यो । ऊ सायद स्त्रैण स्वभावकी स्त्री होइन पौरुषेण स्वभावकी स्त्री थिई ।
प्रश्न पत्र हात परेपछि मैले सरसरती पढेँ । अपराधशास्त्रको परीक्षा थियो । मैले परीक्षाको कुनै तयारी नै गरेको थिइँन । एल.एल.वी.सँग–सँगै अङ्ग्रेजी साहित्यमा एम.ए. पनि गर्दै थिएँ । त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागको तेस्रो सेमेष्टरको विद्यार्थी थिएँ । दुर्भाग्यवश उता पनि परीक्षा आइरहेको थियो । म एम.ए. कै परीक्षामा केन्द्रीत भएको थिएँ । एल.एल.वी. को परीक्षा अर्को वर्ष राम्रोसँग पढेर दिन्छु भन्ने मानसिकता बनाएको थिएँ । त्यसैले एउटा विषयमा हाजिरी जनाउन मात्र परीक्षा हलमा गएको थिएँ । सोचेको थिएँ तीन घण्टाको परीक्षामा बढीमा दुई घण्टामै परीक्षाबाट बाहिरिन्छु । परीक्षा सात बजेबाट थियो । करिव नौ बजे बाहिरिएँ भने त्यसको दुई घण्टामा कोटेश्वरबाट किर्तिपुर पुग्छु र एम.ए.को कक्षा छुटाउँदिनँ । सेमेष्टर सिस्टममा हाजिरको लागि अंक छुट्टाइएको हुन्छ भनेर मात्र होईन कम्तिमा एउटा बिषयमा त राम्रो गर्नै पर्छ भन्ने सोचले त्यसो गर्न खोजेको थिएँ ।
प्रश्नपत्र हेरिसकेपछि थाहा पाएँ अपराधसँग सम्बन्धित केही सामान्य कुराहरु बाहेक मलाई धेरै कुरा थाहा छैन । अनुहार रातो–पिरो हुन खोज्यो तर तुरुन्तै आफुलाई सम्हाले । मुस्कुराउने प्रयास गरँें । म उसको अगाडि नजान्ने जस्तो देखिन चाहन्नथें । त्यसैले सवैकुरा आए जस्तो गरेर लेख्न सुरु गरिहालेंँ ।
पहिलो प्रश्न थियो– डिफाईन क्राईम एण्ड क्रिमिनल । लेखिदिएँ– नेपालमा राजनीति नै सबैभन्दा ठूलो अपराध र राजनीतिकर्मी सबैभन्दा ठूला अपराधि हुन ।
मलाई गल्ति हुने कुरा संग के को सरोकार ? आखिर मलाई पास हुनु पनि थिएन । वरु हावा कुरा लेख्दा पनि पास भईएला भन्ने डर थियो । कारण, म राम्रोसंग अपराधशास्त्रको अध्ययन गर्न चाहन्थेँ । पास भईयो भने फेरी नपढ्न सकिन्थ्यो ।
परीक्षा सुरु भएको केही समय पश्चात उ हाजिरी गर्दै म बसेको ठाउँमा आई । मेरो श्वास बढेर आयो । मुटु ढुकढुक ग¥यो । आफुलाई सम्हाल्न बढी नै प्रयत्न गर्नुप¥यो । उसले मेरो प्रवेशपत्र चेक गरी । हाजिरी फाईलमा औलाले मेरो सिम्बोल नम्बर देखाईदिई । मैले मेरो कापी नम्मर लेखेर हस्ताक्षर गरेँ । उसले म नजिकै उभिएर हेरिरही । केही समय पछि गई । उ गईसकेपछि मलाई अघि उ नजिकै उभिँदाको पल पृय लागेर आयो । मैले त्यस्ता असंख्य पलहरुको कामना गरेँ ।
म परीक्षा हल भित्र भावना र वास्तविकतामा बिभक्त भईरहेको थिएँ । यथार्थ एउटा थियो तर अर्कै देखिन खोजिरहेको थिएँ ।
म प्रश्नपत्रले सोधे अनुसारको जवाफ हैन केवल लेखिरहेको देखाउन मात्र अनेक हावादारी कुराहरु लेखिरहेको थिएँ । ऊ घरी घरी पछाडि आइरहन्थी । मेरो नजिक उभिन्थी । मलाई सकस महसुश हुन्थ्यो । मैले हावादारी कुरा लेखिरहेको उसले थाह त पाउँदिनथी तर किन–किन मलाई मनको बाघले खान खोज्थ्यो । म पकडिएको अपराधी जस्तो महशुस गर्थे ।
“तपाईहरु हल्ला नगरी लेख्नुस् ।” ऊ बेलावखत भन्थी ।
म त्यही मौका छोपेर उसलाई हेर्थे । ऊ प्रायजसो हाँसेकी हुन्थी । नहाँस्दा पनि हाँसे जस्तो नै देखिन्थी ।
मेरो मनमा अनेक भावहरु उठिरहेका थिए । म घरीघरी परीक्षा हलमा परीक्षा दिइरहेको छु भन्ने नै बिर्सिन्थँे । स्वप्न लोकमा हराउँथँे । कल्पनाका अनेक तरंगहरुमा तरंगित हुन्थँे । फेरी आफुलाई समाल्थेँ । सोच्थँे म त परीक्षा हलमा छु । कुनै खुल्ला चौरमा छैन । अहिले मलाई चौरमा बसेर खुल्ला आकासमा हेर्दे कल्पना गरे जस्तो कल्पना गर्ने छुट छैन ।
तर पनि मन बहकी नै रहन्थ्यो । म सम्हाल्ने प्रयास गरि नै रहन्थे । उसलाई अनेक वहानामा हेर्न खोज्दा फेरी दुईचार पटक थप आँखा जुधिसकेका थिए । मैले पनि उसका आँखाहरुको भाव पढेको थिएँ । ऊ पक्कै अविवाहित छे । ऊ पनि सायद जीवन साथीको खोजीमा होली । तर यो निश्चित छैन कि उसले मलाई मन पराउली ।
मैले सोचेँ– उसले पनि मेरो आँखाको भाव बुझेकी छ ।
मैले बेन्च नजिकै उसले फालेको कागजको चिट पुन हेरेँ । त्यो त्यसरी नै पट्टिएको अवस्थामा थियो । त्यति नै बेला उ हलबाट बाहिर निस्की । मैले त्यही मौका छोपेर त्यस चिटलाई खल्तिमा हालेँ । ढुक्क महसुस गरेँ ।
मैले सोचेँ कतै त्यहाँ उसको नाम पो लेखिएको छ कि ? यो फेसबुकको जवानामा म उसलाई खोज्न सक्थेँ । भेट्न सक्थेँ । सम्पर्क गर्न सक्थेँ सायद ।
फेरी सोचेँ– यो मेरो आशा मात्र हो ।
अर्धचेतन चाहना– ब् क्गदअयलकअष्यगक म्भकष्चभ।
सिर्फ एक कल्पना १
आखिर के होला त त्यो चिटमा ?
उ परीक्षा हलमा यताउता गरिरहन्थी । म नदेखे पनि उसले हिँडडुल गरेको आवाज सुनीरहेको हुन्थेँ । त्यो कुनै संगीतमय आवाज त थिएन तर पनि मेरा कानहरुले किन त्यसलाई नोटिस गरिरहेका हुन्थे ? म उ हिँडेको आवाज मात्रले पनि किन झस्किन्थेँ ?
“दुई घण्टा बित्यो है ? अब एक घण्टा मात्र बाँकी ।”
उसको आवाज कानमा प¥यो । कस्तो मिठो आवाज । मन्त्रोचारणको आवाज जस्तो ।
उसको आवाज सुन्दा मात्र पनि मलाई किन खुसी महसुस हुन्छ ?
म दुई घण्टामा निस्कने योजनामा थिएँ । तर मैले त्यस योजनालाई त्यागिदिएँ । अब म अन्तिम सम्मै लेखिरहँन चाहन्थँे । भलै, प्रश्नपत्रले सोधे अनुसारको जवाफ लेखिनरहेको नै किन नहूँ ?
अब अन्तिम एक घण्टा मात्र बाँकी छ भने पछि परीक्षार्थीहरु यताउता सोधखोज गर्न सुरु गरे । म भने कसैलाई केही पनि नसोधी लेखिरहेको थिएँ । बरु दाँयाँ–बायाँकाहरु मलाई सोधिरहेका थिए । म नसुने जस्तो गरिरहेको थिएँ । म चर्पी पनि गइँन् । लेखि नै रहँँे !
म भन्दा दुई बेन्च अगाडि एउटी केटीर्ले चिट चोर्न लाग्दा उसले चिट लिई । हाँस्दै भनी– “फेरी चोर्नुभयो भने कापी नै लिईदिन्छु ।”
उसका अगाडि चिट चोर्न कोही पनि डराइरहेका थिएनन् । खुलेआम चोर्न खोजिरहेका थिए ।
एउटाले त उल्टै थर्काउँनै खोज्यो– “यो बहिनी के भाकी, चुप लागेर बस् ।”
“थप कापी दिनुस् त ?” म सँगै अन्तिम बेन्चमा बसेको एउटा केटो बोल्यो । म छेउ पट्टी बसेको थिएँ । उ भित्ता पट्टी बसेको थियो । त्यस केटाले उसको अनुहारतिर हे¥यो । म कम्पीत भएँ ।
ऊ थप कापी लिएर आई । मेरै अगाडि राखी । निहुरिएर हस्ताक्षर गरी । उसको सलले मलाई छोईयो । मलाई रमाइलो महसुस भयो । लाग्यो उसको त्यही सलको छहारीमा जीवन बाँच्न पाए !
म भन्दा ठिक पल्लो पट्टी बस्ने एक अधबैशको लेख्दालेख्दै कलमको मसी सकिएछ । भन्यो–
“बहिनी कलमको मसी सकियो । कलम छ ?”
ऊ कलम लिएर आउन लाग्दै थिई । मैले तत्काल खल्तिबाट निकालेर आफ्नो जगेडा कलम दिएँ । उसले सकारात्मक भावले मलाई हेरी । मलाई खुसी लाग्यो ।
उ अगाडी नै बसिरहेकी थिई ।
“बहिनी पानी ल्याउँनुस त ।” बीच तिरबाट एउटा बोल्यो ।
उसले सुनिनँ । उ फेरी रिस मिश्रित आवाजमा चिच्यायो । हप्काउँन खोज्यो ।
उ केही बोलीन । चुप लागेर पानी दिई । मलाई भने नरमाईलो महसुस भयो । त्यस मनुवाप्रति रिस उठ्यो । आखिर के सोच्दो हो ? के उ त्यसकी नोकर्नी हो ?
समय सिद्धिन करिव आधा घण्टा जति मात्र बाँकी थियो । हावा गफले मेरो पनि कापी भरिएछ । कापी थपेर लेख्न मन त थिएन तर फेरी समय नसिद्धि निस्केर जान मन पनि लागेन । मन नलागी नलागी थप कापी मागँें ।
उसले थप कापी ल्याएर अघिल्लो कापीसँग स्टिच गरेर जोडिदिई । कापीहरु जोडिए । लाग्यो, मेरो जिन्दगी पनि उसको सँग यसरी नै जोडिए !
मैले थपेको कापीमा पनि हावा भर्न सुरु गरेँ । एउटा प्रश्न थियो होमिसाईड बारे । कानुन संगत हत्या र गैरकानुनी हत्या माथि प्रकाश पार्नु पर्ने । मलाई नेपालको कानुनले शिशुको एर्वोसन गर्न पाउँने ब्यवस्था गरेको मन परिरहेको थिएन । मलाई लाग्थ्यो त्यो शिशुको अन्यायपूर्ण हत्या हो । मैले त्यही विषयमा गफ ठोकिदिएँ । लेखेँ– त्यो कानुन सम्मत हत्या भए पनि गलत हो । कानुनले छुट दिँदैमा गलत कुरा सही हुँन सक्दैन । यस किसिमको कानुन परिवर्तन गर्नुपर्छ । गर्भमा आईसकेपछि कुनै पनि शिशुलाई धर्तीको यात्रा तय गर्ने अवसर दिनुपर्छ । गर्भभित्रै उसको यात्रा समाप्त पार्न पाईदैन् ।
मैले यो कुरा एकजना साथीसंग पनि गरेको थिएँ । उसले आलोचनात्मक हुँदै भनेको थियो–
“अनी बलात्कारबाट रहँन गएको गर्भ चाहिँ के गर्ने नी ?”
मैले सहजै भनेको थिएँ–
“बलात्कारबाट रहँन गएको गर्भ पनि जन्मिँन दिनुपर्छ । आखिर शिशुको के दोष ?”
उसले महिला अधिकारको कुरा गरेको थियो । मैले शिशुको जन्मिँन पाउँने अधिकारको कुरा गरेको थिएँ ।
“अब पाँच मिनेट मात्र बाँकी छ है ।” उसले समय सिद्धिन लागेको जनाउ दिई ।
हलबाट लगभग आधा परिक्षार्थीहरु बाहिर निस्किसकेका थिए । मलाई नि अब निस्कनुप¥यो भन्ने लाग्यो । पछाडिबाट केही अप्ठ्यारो मान्दै हातमा कापी बोकेर अगाडि पुगेंँ । दुई हातले कापी समाएर सम्मान भावले उसलाई कापी बुझाएँ । अगाडि पुस्तक राखेको थिएँ । त्यसलाई हातमा लिएँ । प्रवेशपत्र र प्रश्नपत्र त्यही पुस्तकको बिचमा राखेंँ । म परीक्षाहलबाट बाहिर निस्किन लागेंँ । जाने बेलामा फेरी एक पटक उसको अनुहार हेर्न मन लाग्यो तर हेर्न सकिनँ ।
परीक्षाहलबाट निस्किएर शौचालय गएँ । पिसाव फेरेंँ । अघिको चिट हेर्न आतुर थिएँ तर शौचालय पिसाव फेर्नेहरुले खँचाखच थियो । बाहिर निस्किएँ । नजिकैको चिया पसलमा गएँ । चिया खान मन नलागे पनि चिया अर्डर गरँें । बगलीभित्र हात छिराएँ । बिस्तारै निकालेँ जतनसाथ । मानौ त्यो मेरा लागि संसारको सबै भन्दा पृय बस्तु हो । बिस्तारै खोलेँ । देखेँ– त्यो एउटा रित्तो कागजको टुक्रा मात्र थियो । त्यहाँ केही पनि लेखिएको थिएन । भाव सून्य भएँ । वरिपरी केही पनि देखिँन । केवल अन्धकार देखेँ ।
कति बेला चिया ल्याएर टेबलमा राखिदिएको हो होसै भएन । चिया पिउँन मन लागेन । त्यत्तिकै पैसा मात्र तिरेँ । कागजको टुक्रा हातैमा थियो । त्यसलाई कच्याक–कुचुक पारेर नजिकैको नालीमा फालिदिँन मन लाग्यो । मलाई आफ्नो मूर्खतापूर्ण अपेक्षाप्रति रिस उठ्यो । आफ्नो सस्तो भावुकताप्रति धृणा जाग्यो । त्यस कागजलाई च्यात्न खोजेँ तर सकिँन । मानौ त्यो कागज थिएन काठ थियो । कच्याक–कुचुक पार्न खोजेँ तर मुठ्ठी नै परेन । मानौ, मुठ्ठी आमा हो र त्यो कागज शिशु हो । लामो समय त्यसलाई हातमै लिईरहँे । फेरी किन किन त्यस कागजको टुक्राको मायाँ लागेर आयो । फाल्न मन लागेन । फेरी त्यसरी नै पट्टाएँ जसरी उसले पट्याएकी थिई । फेरी गोजीभित्रै राखेंँ । सोचँे– यो उसले दिएको एउटा अमुल्य चिनो हो । यसलाई जीवनभर सुरक्षित राख्नेछु ।








