रहरहरु त हजारौ थिए होलान्
हजुर संगै बसेर पूरा गर्नु पर्ने
तर रहरको दुनियामा यो सोचेको थिएन कि
हजुरलाई खरानी बनाएर
आफ्नो अपुरो सपनाको लास
रहरकै भुमरीमा सदगद गर्नु पर्छ भनेर
सोचेको थिए
भोको चन्द्रमाको दागी मुहारलाई
ऐना बनाईदिन्छु सिङ्गारेर
जहाँ औशीको मध्यरातमम चन्द्रमाले
आँखा उघार्दा
मेरै मात्र अनुहार देखियोस् ।
सोचेको थिए
नदि किनाराका कोकाकुल ओठहरुलाई
गुलावका पत्रमा मेरो एक चोक्टा मुटु मिसाएर
बनाई दिन्छु रङ्गीन स्थायी प्रेममय
ता कि त्यो ओठमा मेरो हस्ताक्षर कहिल्यै नमेटियोस्
पूरा भए केही थान सोचेका रहरहरु
पूरा भए केही थान नसोचेका सपनाहरु
हजुरको शरिरमा छुएको पहिलो चिसो स्पर्श
छाती भरी फुलेको फुलको वजन काँधमा अङ्गालेर
फुलको पाउमा निधार जोत्दै सपना सम्झदा
थाहा छैन किन बगे मेरा आँखाहरु
अब यी रहरहरु बचत रहेनन् होला ।
हावाको रोदन संग मेरो मिश्रित शोक
नदिको चीत्कार संग बिलौना
आफ्नै पाईला संगको उत्सुकता
चिता माथिको हजुरको नाङ्गो शरीर संग
अघात अघात प्रेम
सपना जलाई दिने आगो संगको दुष्मनी
मेरो अन्तिम जिन्दगी हुनुपर्छ ।
छाती बालेर मेरै रहरको आगोमा
आफै जल्दै जल्दै जानू
जिन्दगी लास बनाएर सपनाको चितामा
आफै खरानी बन्दै जानू
बाँकी अलिति मुटुको रगत निचोरेर
हजुरको नाममा एउटा कविता लेख्नु
सायद
मेरो प्रिय लास संग बार्ता गर्दै लेखेको
अन्तिम कविता हुनु पर्छ यो ।।