काठमाडौँ, चलचित्र अभिनेता सरोज खनालको काठमाडौँस्थित दरबारमार्गमा ‘माला आट्स एकाडेमी’को आज शुभारम्भ गरिएको छ ।
चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध निर्देशकसमेत रहेका अभिनेता खनालले बताएका छन् ।
आज कलाकारको उपस्थित एक कार्यक्रममा उद्घाटन गरिएको कला एकाडेमीमा औपचारिक कक्षा भने आगामी मङ्सिर महीनाबाट शुरु हुने जनाइएको छ । कलाकर्ममा लागेकाले पछिल्लो पुस्तालाई नयाँ बाटो देखाउने अभियान एकाडेमी भएको भन्दै उनले चलचित्र क्षेत्रमा योगदान दिने प्रयास थालेको बताए ।
एकाडेमीका अध्यक्ष चन्द्रमाला शर्माले अभिनय कलालाई चुस्त बनाउन एकाडेमीले सहयोग गर्ने बताएकी छिन् । यहाँ तीन महिने कक्षा चलाउने र यसको शुल्क रु ६० हजार लाग्ने जनाइएको छ ।
माला कला एकाडेमीलाई प्रोडक्सन हाउसका रुपमा समेत विकास गरिएकाले चलचित्र निर्माणसमेत गर्ने योजनासमेत रहेको खनालले जानकारी दिएका छन् ।








